- गणेश सिंह धामी

गणेश सिंह धामी दार्चुला : देशमा उत्पन्न असहज परिस्थितिको मौका छोपेर कृत्रिम अभाव सिर्जना गरी कालोबजार गर्ने व्यापारीहरू फेरि सलबलाउन थालेको पाइएको छ । बजारमा एकातिर अत्यावश्यकीय बस्तुहरूको अभाव सिर्जना भएको छ भने अर्कातिर बस्तुको मूल्य अत्यधिक बढाएर बेच्ने गरेको पाइएको छ । 

दार्चुलाको कतिपय ठाउँमा दैनिक उपभोग्य बस्तुहरु चर्को मूल्यमा बिक्री भैरहेको भए पनि प्रशासनले भने अनुगमन गरेको पाइएको छैन । त्यस्तै  खानेतेल, चिनी तथा दालको मूल्य पहिलेकोभन्दा निक्कै चर्को  मूल्यमा बिक्री हुने गरेको दार्चुलाका स्थानीय महादेव सिंह धामीले मध्यान्हसँग गुनासो गरे । 

 

त्यस्तै पहिला प्रति केजी ३० रुपैयाँ पर्ने आलुको अहिले ४५ रुपैयाँमा बिक्री भैरहेको छ भने प्याज सिमला, लौका, फर्सी, गोलभेड आदिको मूल्य पनि झण्डै दोब्बर बृद्धि भइरहेको पाइन्छ । 

स्थानीय खुद्रा व्यापारीहरुलाई बुझ्दा थोक व्यापारीहरुले बढी मूल्यमा सामान दिन थालेपछि आफूहरु पनि बढी मूल्यमा बिक्री गर्न बाध्य भएको बताउँछन् ।

 

खाना पकाउने ग्यासको आपूर्ति अझ सहज रूपमा हुनुपर्ने भए पनि ग्यास डिपोहरुमा मूल्य वृद्धिमा बिक्री वितरण हुन थालेको छ । थोक ब्यापरीहरु र ग्यास डिपोहरुलाई बुझ्दा उतैबाट मूल्य बढेर आएपछि आफूहरुले पनि बढी मूल्यमा बिक्री गर्नु परेको बताउँछन् । एकातिर संकटको मौका छोपेर कालावजारियाहरु  बढी नाफा कमाउनतर्फ लागे भने अर्कातिर झन् संकट उत्पन्न हुन्छ कि भन्दै उपभोक्ताहरूले सामान थुपारेर राख्ने गरेका छन् । 

चामल र गहुँमा दार्चुलामा निशेधाज्ञा जारी भएपछि प्रति क्वीण्टल दुई सयदेखि तीन सयसम्म मूल्य वृद्धि गरेर बिक्री वितरण गर्ने गरेको पाइएको छ । कालोबजारी नियन्त्रणमा लिन प्रशासनले बजार अनुगमनलाई तिब्रता बनाउनु पर्ने र बढी मूल्यमा सामान बेच्नेहरूको पसलमा छापामारी जरिवाना  गराउनु पर्ने आम उपभोक्ताहरु बताउँछन् । 

अघिल्लो पटकको लकडाउन तथा निषेधाज्ञाका बेला कालाव्यापारीहरू निक्कै मौलाएका थिए, तर विगतको परिस्थिति र अहिलेको परिस्थितिमा निक्कै  भिन्नता देखिएको छ । किनकी विगतमा सरकारमाथि पनि भरोसा भएका कारण सर्वसाधारण आश्वस्त थिए ।  त्यति बेला खाद्य संकट हुन नदिन टोल टोलमा स्थानीय सरकारले राहत वितरण गरेको थियो । टोलटोलमा सर्वसाधारण जनता एक जुट भएर विपन्न वर्गका लागि नि:शुल्क  खाद्य वितरण गरेका थिए । 

तर अहिले सरकारको त्यस्तो गर्ने कुनै सुरसार देखिँदैन । त्यसबेला कुनै कुनै ठाउँमा समाजसेवीहरुको संकट व्यवस्थाका लागि सहयोग गर्ने प्रतिस्पर्धा नै चलेको थियो । तर, अहिले परिस्थिति भिन्न छ र असम्भव पनि छ । यी र यस्तै कारणले कालोबजारी गर्नेहरु सलबलाउन थालेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार