

प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लाग्नुभएको विश्वासको मतको मतदानमा कोरोना सङ्क्रमित सांसदहरूलाई समेत सहभागी गराइने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले सङ्क्रमित सांसदहरूलाई स्वास्थ्य मापदण्डसहित मतदानको व्यवस्था गर्ने निर्णय गरेको हो । सङ्घीय संसद् भवनको ल्होत्से हलमा उनीहरूका लागि मतदानको व्यवस्था गरिने छ । हालसम्म २८ सांसद सङ्क्रमित भएको विवरण संसद् सचिवालयले प्राप्त गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिले विशिष्ट परिस्थिति रहेको भन्दै विश्वास मतको प्रक्रियालाई पनि सोमबार नै टुङ्गो लगाउने निर्णय पनि गरेको छ । दलीय प्रतिनिधित्वमा शीर्ष नेताहरूले मात्र मन्तव्य दिएर सोमबार नै मतदान प्रक्रिया अगाडि बढाउने समझदारी कार्यव्यवस्थामा बनेको हो ।
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले स्वास्थ्य मापदण्ड अपनाएर सङ्क्रमित सांसदलाई मतदानमा सहभागी गराउने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वास मतको प्रयोजनका लागि मात्र यो अधिवेशन बोलाइएकाले लामो चल्ने अवस्था छैन । कोरोनाका कारण मुलुक आक्रान्त पनि छ ।
सङ्क्रमित बढिरहेका छन् । सांसद पनि ठूलै सङ्ख्यामा सङ्क्रमित हुनुभएको छ । सङ्क्रमितलाई आज विश्वास मतको मतदानमा सहभागी गराउने विषयमा नै छलफल भयो । स्वास्थ्य मापदण्ड अपनाएर मतदानमा सहभागी गराउने निर्णय भएको छ ।”
यस्तै अधिवेशनलाई सकेसम्म सोमबारै सक्ने गरी समझदारीसमेत बैठकले गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले बैठक सकेसम्म छोटो बनाउने र कोरोनाको अवस्थामा कसरी व्यवस्थित बनाउने भन्नेमा पनि छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोभिडको अवस्थामा बैठक कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल भयो । धेरै सांसदमा पोजेटिभ देखिएको छ । कतिपयको परीक्षण गर्न नभ्याएको अवस्था छ । पोजेटिभ देखिएकालाई मतदानको अधिकारबाट नछुटाउने ढङ्गबाट तयारी गराउने कुरा भएको छ । सकेसम्म छिटो सक्ने गरी पनि छलफल भयो । ”
यसरी हुनेछ व्यवस्था कार्यव्यवस्थाको निर्णयअनुसार उपत्यका बाहिर रहेका सदस्यलाई पनि यथाशक्य उपत्यका ल्याइने छ । सङ्क्रमित सदस्यलाई सङ्घीय संसद् भवनअगाडि टेन्टमा बस्ने व्यवस्था मिलाइने छ । मतदान प्रक्रिया प्रारम्भ भएपछि भने भवनको ल्होत्से हलमा मतदानको व्यवस्था मिलाइने छ ।
सङ्घीय संसद्का सचिव ध्रुवप्रसाद घिमिरेले कार्यव्यवस्थाको निर्णयअनुसार सचिवालयले तयार पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित सांसदहरूलाई बाहिर टेन्टमा बस्ने व्यवस्था मिलाउने छौँ । मतदानमा भने ल्होत्से हलमा उहाँहरूलाई व्यवस्था गरिने छ । तोकिएको स्वास्थ्य मापदण्ड अपनाएर मतदानमा सहभागी गराइने छ । ”