गोपाल बटाला , रुकुम पश्चिम। जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्।
स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुसारापात भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा एम्बुलेन्स समेत छैन। जनप्रतिनिधि चढ्न भने महंगा गाडीहरू छन् ।
पछिल्लो समयमा कोरोना महामारीको हट स्पट बन्दै गएको नगरपालिकामा एउटा पनि एम्बुलेन्स नहुँदा कोरोनाका बिरामी रेफर गर्न समस्या भएको छ।रा १ ज १५५ नम्बरको नगरपालिकाको एम्बुलेन्स महिनौं देखि बिग्रीएको अवस्थामा छ।
बिग्रीएको एम्बुलेन्स अहिलेसम्म मर्मत नहुँदा नगरबासीले आफ्नो समस्यामा आफैले जोहो गर्दै आएका छन। स्रोतका अनुसार महिनौंदेखि थन्किएको एम्बुलेन्स चालक आफैंले मर्मत गर्न नेपालगञ्ज लागिको जनाइएको छ।
आफ्ना लागी आरामदायी गाडी खरिदगर्ने जनप्रतिनिधिको ध्यान नगरपालिकामा एम्बुलेन्स, दमकल, शववाहनजस्ता अत्यावश्यक सवारी खरिदतिर भने गएको छैन। जनप्रतिनिधिको विलासितामा करोडौं रुपैयाँ खर्च भइरहे पनि दुर्घटना हुँदा, सर्वसाधारण बिरामी पर्दा, आगलागी हुँदा र प्राकृतिक विपत्तिलगायतमा उद्धार गर्ने सवारीचाहिँ नगन्य छन्। अहिले आठबिसकोट नगरपालिकामा मात्रै १०० जना संक्रमित रहेका छन् ।