काठमाडौं, जेठ ६ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाउनु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले रिपोर्टिङ गर्ने र राष्ट्रिय सभा निर्वाचनको बिषयमा छलफल गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रहनुभएका स्थायी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव नेपाल समुहले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ ।
माधव कमरेडहरुले पार्टी निर्णयबिरुद्ध उभिएर असहयोग गरेको सूचना आएको छ, यस बिषयमा गम्भीर छलफल हुनेछ, स्थायी कमिटीका एक सदस्यले भने । एमाले अध्यक्ष ओलीले बुधवार अपिल नै जारी गर्दै पार्टीको आधिकारिक उम्मेद्वारलाई मतदान नगर्ने बिषयलाई क्षमा दिन नसकिने प्रष्ट पारिसक्नु भएको छ ।