रुकुम पश्चिम । रुकुम पश्चिम क्षेत्रको स्थानीय तहबाट कोरोना पहिचानका लागि पठाएको स्वाब परीक्षण रिपोर्ट पाँच दिनसम्म लाग्ने गरेको छ ।
यहाँको नगर अस्पतालमा संकलन गरिएको स्वाब पिसिआर परिक्षणको लागि एम्बुलेन्स मार्फत सुर्खेत पठाउने गरिएको छ । कोरोना पहिचानका लागि आठबिसकोट नगर अस्पतालमा दुई दिनसम्म स्वाब संकलन गरीने र त्यसपछि संकलित स्वाब सुर्खेत पठाउने गरेको अस्पतालले जनाएको छ।
कोरोना परीक्षण ढिलाइले संक्रमितको पहिचान समयमै हुन नसक्दा संक्रमण समुदायस्तरमै फैलिएको स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना परिक्षणका लागि अहिले नगरपालिकामा एन्टिजेन कीट अभाव छ । ‘समयमा परीक्षण नहुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना धेरै छ ।
आठबिसकोट नगरपालिकाका अस्पताल प्रमुख मनिराज शाहले भने, ‘ लक्षण देखिएका ,सम्पर्कमा आएका र अस्पतालमा उपचारका लागि आएका शंकास्पद बिरामीको मात्र कोरोना परीक्षण गरिरहेका छौं ।’ कोरोना परीक्षणका लागि एन्टिजेन किटको पनि अभाव रहेको र पीसीआरका लागि सुर्खेत पठाउनुपर्ने भएकाले कोरोना परीक्षण हुन नसकिरहेको उनले बताए ।
‘पीसीआरका लागि स्वाब सुर्खेत पठाउँदा रिपोर्ट आउन छिटोमा ३ दिन नभए ५ दिनसम्म लाग्न सक्छ ,’ उनले भने, सुर्खेतमा पनि परिक्षणका लागि पालो कुर्नुपर्ने अवस्था छ। पालो अनुसार रिपोर्ट ढिला पनि आउनसक्छ ।
नगर अस्पतालमा आएका कोरोना संक्रमणको शंकास्पद बिरामीको मात्रै स्वाब संकलन गरिने र पोजेटिभ आए आइसोलेसनमा राखेर उपचार गरिरहेको शाहले बताए । उनका अनुसार बिहिवार सम्म पिसिआर परिक्षणको लागि ११९ जनाको स्वाब सुर्खेत पठाइएको छ ।
कीट सकिएपछि ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षणका लागि स्वाव सुर्खेत पठाउने गरिएको छ । तर पीसीआर परीक्षणको रिपोर्ट आउन झन्डै हप्तादिन कुर्नुपर्ने बाध्यता छ । पिसिआर रिपोर्ट नआउँदासम्म कोरोनाको आशंका लागेका र ट्रेसिङमा परेकाहरुलाई भने होमआइसोलेसनमा बस्न सुझाव दिने गरिएको छ ।
कोरोना परीक्षणका लागि स्वाब सुर्खेत पठाउनुपर्ने र त्यहाँ ल्याबमा परीक्षणको चाप हुने भएकोले रिपोर्ट आउन ढिलाइ हुने गरेको छ । कोरोना परीक्षणको रिपोर्ट आउन ढिला हुँदा उपचारमा समेत समस्या भएको उपचारमा संलग्न स्वास्थ्यकर्मी बताउँछन् ।