काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेपछि नेपाली कांग्रेसले आज ‘आकस्मिक’ बैठक डाकेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान साढे ९ बजे डाकिएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधीकारीहरु भेला हुने कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे पार्टीको साझा धारणा तय गर्दै कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय हुन्छ, महतले खबरहबसँग भने ।
संविधानको धारा ७६-५ को सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाले गरेको दाबी नपुगेको भन्दै राष्ट्रपतिले सरकारको सिफारिसमा शुक्रबार मध्यराति नै आगामी कात्तिक र मंसिरमा मध्यावधि घोषणा भएको छ ।
मध्यावधि घोषणाको कांग्रेसका कतिपय नेताले विरोध गरेका छन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले महामारीको चपेटामा रहेका जनतालाई निर्मम उपहारको रुपमा मध्यावधि निर्वाचन दिइएको टिप्पणी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटनलाई सदर गर्दै मध्यावधि निर्वाचन घोषणा गरेलगत्तै प्रवक्ता शर्माले ट्वीट गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई इतिहासको भिन्न कोतपर्वको संज्ञा दिएका छन् । उनले प्रधानमन्त्री ओलीको अधिनायकवादको हाइवेको भ्रममा रहेको पनि बताएका छन् ।