कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीलाई बूढानीलकण्ठस्थित आफ्नो निवासमा डाकेका छन् ।

भदौ २१ भित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यतामा कोरोना भाइरस महामारीले अवरोध पुर्याएपछि देउवाले यसबारे छलफलका निम्ति पार्टी पदाधिकारीलाई बोलाएका हुन् ।

विधानतः कांग्रेसले ५ वर्षभित्र महाधिवेशन गरिसक्नुपर्छ । जुन समय ०७७ फागुन २१ मा समाप्त भइसकेको छ । तर कांग्रेसले पटक–पटक महाधिवेशन मिति तोक्दै सार्दै गरिरहेको छ ।

पार्टी विधानअनुसार चल्न नसकेको कांग्रेसलाई आफ्नो वैधानिकता जोगाउन संविधानअनुसार अझै साढे ३ महिनाको समय छ । संविधानमा राजनीतिक दलले ५ वर्षभित्र महाधिवेशन गर्नुपर्ने र यो समयभित्र नसकेमा थप ६ महिना उपलब्ध गराउन सकिने उल्लेख छ । जुन समयसीमा आगामी भदौ २१ मा सकिँदैछ ।

कोरोना कहरका कारण आगामी भदौमा महाधिवेशन गर्न भने कांग्रेसलाई उति सहज देखिँदैन । तल्ला तहका अधिवेशन मात्र होइन, क्रियाशील सदस्यताको पनि टुंगो लाग्न सकेको छैन ।

भदौमा महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता रहेकाले त्यसको समाधान दिनेबारे शनिबार बस्ने पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार