पोखरा । लगातारको वर्षापछि आएको बाढीले मनाङमा विद्युत्गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ ।

सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो ।

तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्‍याएको छ । नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ ।

तालगाउँका स्थानीय बासिन्दा मीनराशि गुरुङका अनुसार मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो ।

करिब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फ आएको उनले बताए ।

उनका अनुसार गाउँमा टेलिफोन सेवा पनि अवरुद्ध छ । ‘हामी त म्यार्दीभिरमा आएर फोन गरेका हौँ,’ उनले भने । स्थानीय वेदबहादुर गुरुङले तालगाउँ डुबानमा परेको र हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार