रुकुम पश्चिम : रुकुम पश्चिम जिल्लाका ६ मध्ये ५ पालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र दुई गाउँपालिकाले आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । रुकुम पश्चिममा तीन नगरपालिका र तीन गाउँपालिका छन् ।

जिल्लाका स्थानीय तहले ३ अर्ब १८ करोड ( झन्डै रु. ४) अर्ब बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । त्रिवेणी गाउँपालिकाले भने बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन । बजेट, नीति तथा कार्यक्रमबारे आफूहरु छलफलमै रहेको गाउँपालिकाले जनाएको छ । त्रिवेणी गाउँपालिकामा बेलाबेलामा विवाद हुँदै आइरहेको छ ।

रुकुम पश्चिमका स्थानीय तहले आफ्ना प्राथमिकताको आधारमा बजेट विनियोजन गरेका छन् । संघ, प्रदेशबाट आएको अनुदान र पालिकाको आन्तरिक आम्दानीको अनुमानका आधारमा बजेटको आकार निर्धारण गरिएको छ । जिल्लाको सबैभन्दा ठूलो नगरपालिका आठबिसकोटले सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले रु ८५ करोड २० लाख ६२ हजारको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ ३९ करोड ७४ लाख ७२ हजार रहेको उपमेयर गिता नेपालीले जानकारी दिइन् । कुल बजेटको ४६.४५ प्रतिशत हो भने पुँजीगत तर्फ ४५ करोड ४५ लाख ९० हजार २ सय ४० रुपैयाँ रहेको छ ।

उनका अनुसार बिहीबार पेश गरिएको नीति तथा कार्यक्रम पारित भएको र बजेटउपर छलफल बाँकी भएको मध्यान्हलाई बताइन् ।

त्यस्तै मुसीकोट नगरपालिकाले पनि आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ७९ करोड ५७ लाख ५७ हजार बजेट बिनियोजन गरेको छ । उपमेयर प्रेमकुमारी सुनारले नगर सभामा करिब ८० करोड बराबरको बजेट पेश गरेकी हुन् ।

चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ५८ करोड ६५ लाख ६९ हजार बजेट ल्याएको छ । सानीभेरी गाउँपालिकाले ४८ करोड ६३ लाखको बजेट ल्याएको छ । बाँफिकोट गाउँपालिकाले जिल्लाका स्थानीय तह मध्ये सबैभन्दा कम ४६ करोड ६७ लाखको बजेट प्रस्तुत गरेको छ ।

बिहीबार मुलुकभरका ७५३ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । केही स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् भने केहीले ल्याउँदै छन् । यो स्थानीय तहका जनप्रतिनिधिको अन्तिम कार्यकालको बजेट सार्वजनिक भएको हो ।

लगातार २ वर्षसम्म जारी कोरोना महामारीका कारण विकास बजेट काटेर स्वास्थ्य क्षेत्रमा लगानी बढाएका यहाँका स्थानीय तहले यो वर्ष पनि स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार, कृषिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार