काठमाडौं : टोकियो ओलम्पिकको तयारीका लागि नेपाली पौडी टोली सोमबार जापान प्रस्थान गरेको छ। आगामी जुलाई २३ देखि सुरु हुने ओलम्पिकका लागि पौडीका एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार जापान प्रस्थान गरेको हो।

पौडी खेलाडी एलेक्स शाह र प्रमुख प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रथान गरेका हुन्। पौडी खेलाडी शाह र गौरिका सिंहले टोकियो ओलम्पिक तयारीका लागि टोकुसिमा प्रान्तमा अभ्यास गर्ने छन्।

टोकियो ओलम्पिकमा पौडीका गौरिका सिंह र एलेक्सले सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै छन्। गौरिका भने इङ्ल्यान्डबाटै ओलम्पिक तयारीका लागि टोकुसिमा प्रान्त पुग्नेछिन्। सन् २०२० को जनवरीमा नेपाल ओलम्पिक कमिटी र उक्त प्रान्तबीच ओलम्पिक तयारीका लागि नेपाली टोलीको पूर्वअभ्यास सम्बन्धी सम्झौता भएको थियो। सोहीअनुरूप नेपाली पौडी खेलाडीले केही समय अभ्यास गर्ने अवसर पाएका हुन्। टोकुसिमामा अभ्यासपछि उनीहरू आगामी जुलाई २० मा टोकियो ओलम्पिक भिलेज पुग्नेछन्।

टोकियो ओलम्पिकमा गौरिका र एलेक्ससँगै एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्नेछन्। यसअघि एथलेटिक्समा म्याराथन धावक गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिक खेल्ने तयारी थियो। १३औं दक्षिण एसियाली खेलकुदमा पाँच हजार मिटर दौडका स्वर्ण विजेता पार्कीले नेपालगन्ज म्याराथनको उपाधि जित्दै ओलम्पिकका लागि छनोट भएका थिए। तर, विश्व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला एक सय मिटरमा कोटा दिएका कारण पार्कीको स्थानमा सरस्वती चौधरीले ओलम्पिक खेल्न लागेकी हुन्। म्याराथनमा कोटाभन्दा बढी आवेदन परेकाले नेपाललाई महिला एक सय मिटर दौडमा कोटा दिएको जनाइएको छ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ। यस पटकको ओलम्पिकमा ३३ खेलमा ३ सय ३९ पदकका लागि प्रतिस्पर्धा हुँदैछ।अन्नपूर्ण पोस्ट,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार