रजनी योगि ,सुर्खेत पश्चिम, सुर्खेतको चौकुने गाउँपालिकामा पर्ने रेक्चाको खानेपानी संकट टार्ने वचन दिएर भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाको टोली फर्किएको छ । खडेरीको बेला चरम खानेपानी संकट व्यहोर्न बाध्य रेक्चावासीको स्थलगत अवस्था बुझ्न गएका मन्त्री थापासहितको टोलीले दीर्घकालिन रुपमा खानेपानी समस्या निराकरण गर्ने प्रतिवद्धता जनाएको हो ।

चौकुने गाउँपालिका–५ मा पर्ने रेक्चामा पानीको स्थायी मुहान नहुँदा पालो लगाएर स्थानीय कुवा पानीको उपभोग गर्न बाध्य छन् । मन्त्री थापाले भने रेक्चामै पुगेर सहज रुपमा पानी उपलव्ध गराउन लिखित प्रतिवद्धता गरेका छन् ।

‘रेक्चा र वडा नम्बर ४ पुच्मा बागमारामा खानेपानी अभावलाई विस्तार गर्ने निर्णय गरेर फर्किएको छु,’ मन्त्री थापाले भने, ‘आवश्यक बजेटको व्यवस्था गरेर तत्कालका लागि डिप बोरिङबाट भएपनि खानेपानी समस्या समाधान गरिनेछ ।’

त्यस क्षेत्रका नागरिकहरुको घरमा विद्युत पु¥याउन बन्द रहेको लघुजलविद्युत आयोजनाको काम अघि बढाउन आवश्यक पहल गर्ने मन्त्री थापाले बताए । डेटखोला लघु जलविद्युत आयोजना झण्डै २२ महिना अघि १३ दिन सञ्चालनमा आएर बन्द भएको थियो ।

गाउँपालिकाको उदासिनताका कारण जलविद्युत आयोजना हालसम्म सञ्चालन हुन सकेको छैन् । स्थानीयले पटक–पटक जलविद्युत सुचारु गरिदिन गाउँपालिकालाई अनुरोध गरेपनि कुनै सुनुवाई नभएको स्थानीय युवा किरण विसीले जानकारी दिए ।

‘मन्त्रीसहितको टोली रेक्चामा पुगेपछि तत्काल डिपबोरिङबाटै खानेपानीको व्यवस्था गर्न सकिन्छ भन्ने सुझाव नागरिकहरुबाट आयो,’ विसी भन्छन्, ‘रेक्चामा डिपवोरिङसहितको ट्रक जान सडकको समस्या छ। तर गाउँपालिकाले सडक निर्माणका लागि सुनुवाइ नै गदैन् ।’ रेक्चा गाउँमा दुई सय जना मतदाता छन् । नागरिकहरुले २१ ओटा कुवाको पानी आलोपालोबाट प्रयोग गर्दैआएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार