वाग्मती, १ साउन : कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ । वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्ष अवधिमा बालविवाहको सङ्ख्यामा खासै कमी नआएको पाइएको हो । यता कम उमेरमा आमा भएका तथ्याङ्कले पनि बालविवाहका घटनामा उल्लेखनीय सुधार नआएको सङ्केत गरिरहेको पाइन्छ ।

मन्त्रालयका अनुसार वाग्मती प्रदेशका विभिन्न जिल्लामध्ये सबैभन्दा बढी बालविवाह हुनेमा मकवानपुर जिल्ला पाँचौँ स्थानमा रहेको छ । सबैभन्दा बढी धादिङमा ६२.९ प्रतिशत, नुवाकोटमा ६२.५ प्रतिशत, सिन्धुलीमा ६२.५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०.९२ प्रतिशत र मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

वाग्मती प्रदेशकै काठमाडौँमा भने सबैभन्दा कम ३९.११ प्रतिशत बालविवाह भएको उल्लेख छ । बालविवाह मात्र होइन, किशोरी अवस्थामै आमा बन्नेको सङ्ख्या पनि उत्तिकै छ ।

बीस वर्ष नपुग्दै विवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि पछिल्लो कोरोनाको असहज स्थितिमा समेत बालविवाह घटनामा खासै कमी आउन सकेको छैन । सबै क्षेत्रमा प्रभावकारीरूपमा जनचेतना पुग्न नसक्दा अपेक्षाअनुसार बालविवाहका घटनामा कमी आउन नसकेको सरोकारवालाको निष्कर्ष छ ।

मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका अभिभावक समूहका अध्यक्ष हरिबहादुर प्रजा बन्दाबन्दीको समयमा बालबालिकाको अध्ययनभन्दा अन्यत्र ध्यान केन्द्रित हुने र सो अवधिमा बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम हुन नसक्दा बालविवाहका लागि बल पुगेको बताउनुहुन्छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा १ मा २० वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन नहुने व्यवस्था छ । ऐनको उपदफा २ मा २० वर्षभन्दा कम उमेरमा हुने विवाह स्वतः बदर हुने उल्लेख छ ।

उपदफा ३ मा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने, गराउने व्यक्तिलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना हुने व्यवस्था गरेको छ । सरकारले सन् २०३० सम्ममा मुलुकबाट बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ । वाग्मती प्रदेश सरकारले पनि प्रदेशबाट बालविवाह अन्त्य गर्ने नीति तथा कार्यक्रम पारित गरिसकेको अवस्था देखिन्छ ।

मकवानपुरमा बालबाविवाह रोक्नका लागि कार्यक्रम सञ्चालन गरिरहनुभएकी अस्मिता नेपालका अध्यक्ष आरती पाठकले बालविवाह रोक्नका लागि स्थानीय सरकारले बालविवाह रोकथामका लागि बनेका ऐन कानूनको विषयमा वडा–वडामा सुसूचित गराउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार बालबालिकालाई विद्यालयस्तरमा विषयगतरूपमा नै यसका बारेमा पढाइ हुनुपर्ने छ ।

एसइईपछि पनि उच्च शिक्षा साथै रोजगार वा स्वरोजगारको व्यवस्था गर्न सक्नुपर्ने अध्यक्ष पाठकको भनाइ छ । बालबालिका आफँैमा बालविवाह गलत हो भन्ने चेतना वृद्धि गर्नका लागि बाल क्लब, किशोरी समूहलगायतलाई सक्रिय बनाउँदै यस्ता गतिविधि भएका कार्यक्रम सञ्चालन गर्नुपर्ने अध्यक्ष पाठकको निष्कर्ष छ ।

मकवानपुरमा सबैभन्दा बढी बालविवाह हुने क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिका हुन् । मकवानपुरका बकैया, मकवानपुरगढी, कैलाश गाउँपालिका र हेटौँडा उपमहानगरपलिकामा बालविवाह निरुत्साहित गर्न विभिन्न सङ्घसंस्थाको पहलमा अभियान चलाउँदै आइएको छ । बालविवाह हुनबाट उद्धार गरिएका सबै बालिकाले मकवानपुरमा रहेको सिविन बाल हेल्पलाइनमा मनोसामाजिक मनोविमर्श सेवा लिइरहेका छन् ।

यता कम उमेरमा आमा भएका तथ्याङ्कहरुले पनि बालविवाह कायमै रहेको सङ्केत गरिरहेको छ । हेटौँडा अस्पतालमा गत चैत १ देखि वैशाख १५ गतेसम्म दैनिक एक जनाका दरले ४५ किशोरी कम उमेरमै आमा भएका छन् । यो अवधिमा हेटौँडा अस्पतालमा आमा बनेका २५६ मध्ये २० वर्षभन्दा कम उमेरका ४५ जना छन् । तीमध्ये किशोरावस्थामै दोस्रो सन्तान जन्माउनेको सङ्ख्या नौ छ ।

किशोरावस्थामै आमा बन्नेमध्ये अधिकांश मकवानपुरका छन् । अस्पतालको तथ्याङ्कअनुसार मकवानपुरका ४०, बाराका तीन र सर्लाहीका दुई जना किशोरावस्थामै आमा बनेका हुन् । कलिलै उमेरमा विवाह गर्ने किशोरी र उनीबाट जन्मने शिशु जोखिममा पर्ने मात्रै होइन, अधिकांश बालविवाह सम्बन्धविच्छेदमा परिणत हुने गरेको देखिन्छ । बालविवाहले महिला र बालबालिकालाई उच्च जोखिममा पार्ने गरेको छ ।
ग्रामीण भेगका मात्रै होइन, बजार क्षेत्रकै पनि धेरै किशोरीको विवाह २० वर्ष नपुग्दै हुने गरेको छ । आमा बन्ने तथ्याङ्क हेर्दा पनि अवस्था फरक देखिँदैन । पछिल्लो डेढ महिनामा २० वर्ष नपुग्दै सन्तान जन्माउने सबैभन्दा बढी हेटौँडा उपमहानगरका २३ जना छन् । तीमध्ये छ जना दोस्रोपटक आमा बनेको अस्पतालले जनाएको छ ।

त्यसैगरी मकवानपुरगढीका पाँच, बकैया र मनहरिका तीन÷तीन, भीमफेदी र बागमती गाउँपालिकाका एक÷एक जना उमेर नपुग्दै आमा बनेका हुन् ।

हेटौँडा अस्पतालका महिला तथा प्रसूति स्वास्थ्य विशेषज्ञ डा राघवेन्द्र ठाकुरका अनुसार कम उमेरमा गर्भवती हुँदा आमा र शिशु दुवैलाई जोखिम रहने गर्दछ । किशोरीको शारिरक विकास नै हुने क्रममा रहेको अवस्थामा स्वयं आमा बन्दा यसले स्वास्थ्यमा प्रतिकूल असर पार्ने उहाँको भनाइ छ ।

कम उमेरमा गर्भवती हुनेको सन्तान जन्माउने, स्याहार गर्ने र अभिभावकत्व निर्वाह गर्ने कुनै योजना नै नहुने गरेको पाइएको महिला तथा प्रसूति स्वास्थ्य विशेषज्ञ ठाकुरको भनाइ छ ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार