विराटनगर : विराटनगरमा अटो टेम्पोभित्रै बेहोस अवस्थामा भेटिएका चालकको सोमबार साँझ मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–३ तालतलैया घर भएका ३० वर्षीय विषम श्रेष्ठको अटो टेम्पोभित्र बेहोस भेटिएको केही बेरमै मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। उनका अनुसार श्रेष्ठ कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ एयरपोर्ट मोडमा साँझ ७:४५ बजेतिर बेहोस अवस्थामा भेटिएका थिए।
सडकको पश्चिमतर्फ रोकेर राखिएको को २ ह २३३३ नम्बरको अटोभित्र सिटमा ढल्किएको अवस्थामा उनलाई बेहोस अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका हुन्। प्रहरीले उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको जानकारी एसपी जिसीले दिए।
‘अटो चालकलाई मुख पूरै सुख्खा रहेको अस्थामा बेहोस भेटिएको थियो। गर्मीले समस्या बनाएको हो कि भन्ने आशंका थियो,’ उनले भने, ‘त्यसपछि प्रहरीले तत्काल उपचारका लागि लग्यो। तर अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन्।’
उक्त अटो श्रेष्ठको आफ्नै रहेको प्रहरीले जनाएको छ। अटोमा बोराभित्र लगभग पाँच किलोजति चिनी र आधा खाएको अवस्थामा फ्रुटीको बट्टा पनि भेटिएको जिसीले बताए। उनका अनुसार घटनाको अनुसन्धान थालिएको छ।