काठमाडौँ, । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दिगो विकासको आधार तयार गर्न आफू क्रियाशील रहने बताउनुभएको छ ।
नेपाली काँग्रेसको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिसँगको भेटमा उहाँले आमनागरिकको जीवनमा रूपान्तरण ल्याउनका लागि तल्लो तहमा अनुभूत हुनेखालका उद्यमशीलता विकास कार्यक्रम लागू गर्ने र ती उद्यमको दिगो सञ्चालन आफ्नो प्राथमिकतामा रहने पनि बताउनुभयो ।नेपाली काँग्रेसका तर्फबाट सांसदसमेत रहनुभएका उद्यमी तथा समितिका संयोजक विनोद चौधरी तथा सहसंयोजक अनिल रुगटालगायतका पदाधिकारीले अर्थमन्त्री शर्मालाई भेटेर वर्तमान अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा विभिन्न सुझाव दिनुभएको थियो ।उद्यमी चौधरीले कोभिड–१९ को अवस्था र आर्थिक सङ्कटकै बीचमा प्राकृतिक प्रकोपले समेत ठूलो क्षति पुयाएको उल्लेख गर्दै आमजनताको आयआर्जनको सुनिश्चितताका लागि सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले हालको विषम परिस्थितिमा
उत्पादन वृद्धि गरी आन्तरिक खपत र निर्यात बढाउनसके मात्र अर्थतन्त्र चलायमान हुनुका साथै सबल र स्थायित्व प्राप्ति हुने, रोजगारीका अवसरसँगै आमजनताको आयआर्जनमा सुधार हुने उल्लेख गर्नुभयो ।

संयोजक चौधरीले मुलुकभित्र उद्यमशीलता विकासका लागि ‘गरिखाने अभियान’ सञ्चालन गरिरहेको समितिले बैङ्क तथा वित्तीय संस्थाका छ हजार शाखामार्फत प्रत्येकबाट कम्तीमा १० वटा सहुलियत कर्जा प्रदान गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्नसके ६० हजार नेपाली युवालाई उद्यमी बनाउन सकिने सुझाव पनि दिनुभयो । उहाँले एउटा उद्यममा न्यूनतम तीन जना मात्र रोजगार भएको खण्डमा पनि वार्षिक करिब दुई लाख रोजगारी सिर्जना हुने बताउनुभयो ।
समितिका सहसंयोजक अनिल रुगटाले श्रम बजारमा आउने चार लाखमध्ये आधा श्रमशक्तिलाई यहीँ रोजगारी सिर्जना गरेर बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्ने बताउनुभयो ।
अर्थमन्त्रीसमक्ष पेस गरिएको सुझावमा समितिले बैङ्क तथा वित्तीय संस्थाले कम्तीमा पनि हरेक प्रदेशमा दिगो बैङ्किङमार्फत सहुलियत कर्जा कार्यक्रमलाई सहजीकरण गरी उत्पादनमूलक र दिगो विकास लक्ष्यलाई सहयोग गर्ने क्षेत्रमा लगानी गराउनु वाञ्छनीय हुने उल्लेख गरेको छ ।गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार