- टिमखबर सम्बाददाता दैलेख

दैलेख ः दैलेखको गुराँस गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सञ्चालन गरेको छ ।
आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।
कोभिड महामारी र लडाउनका कारण स्थगित भएको सो कार्यक्रमलाई यतिवेला गाउपालिकाले प्रभावकारी रुपमा सञ्चालन गरेको हो ।

कार्यक्रमअन्तर्गत विभिन्न खाद्य सामग्री तथा लत्ता कपडा एवं सरसफाइका सामग्री उपलब्ध गराइएको छ । गुराँस गाउपालिकाका ८ वटै वडाहरुमा १८सय सुनौला हजारदिनका आमाहरुलाई पोषण कार्यक्रमभित्र पोषिलो खानेकुरा , सरसफाईको लागी फिल्टर तथा बाल्टि ,न्यानो कपडा देखी खाद्यान्न वितरण गरेको हो ।

पालिकाको चालू आव २०७७÷७८ नीति तथा कार्यक्रममा नै सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम समावेश गरिएको थियो । गर्भवती भएको बेला चार पटक जाँच गर्नुपर्ने, पौष्टिक आहार खाने संस्कारको विकास, पारिवारिक जिम्मेवारीको बोध, व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने विषयमा कार्यक्रममा छलफल हुन्छ ।
भेटघाट कार्यक्रमको अवसरमा बोल्दै गुराँस गाउपालिका उपाध्यक्ष दिपा विसिले पछिल्लो समयमा ग्रामिण जनस्तरमा आफुले उत्पादन गरेको अर्गानिक खानेकुराहरु बजारमा बेचेर स्वाद र सन्तुष्टिका खाद्य सामाग्रीहरु सेवन गरिरहेको बताउदै अवका दिनहरुमा त्यसबाट सबैले सचेत हुनुपर्नेमा जोड दिइन् ।
गुराँस गाउपालिकाका अध्यक्ष खेमराज वलिले पौष्टिकता बारे सचेतना फैलाउनका लागी भएपनि सुनौला हजारदिनका आमाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विपन्न आमाहरुकालागी पोषणका कार्यक्रम सबै वडाहरुमा सञ्चालन गरिरहेको बताए । गाउपालिकाले केहि समयमा नै गाउपालिकालाई पोषणमैत्री गाउपालिका घोषणा गर्ने योजना समेत बनाएको छ उनले भने ।
“नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका जस्ता मापदण्ड पूरा गरेका गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका उपाध्यक्ष विसीले बताइन ।
कार्यक्रमबाट खासगरी विपन्न वर्गका महिलाले निकै राहत महशूस गरेका छन् । घर आँगनमै पोषिलो कोसेली पाउँदा निकै खुसी भएका हुन् ।
सुनौला हजार दिनका आमालाई उपाध्यक्ष पोषण कोसेली कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको स्थानीयवासी नन्दा मल्लले बताइन । गर्भवती हुँदासमेत आराम नपाउने, गोठमै सुत्केरी गराउने, सुत्केरी हुँदा बखत घरको जग छुन नदिने अन्धविश्वासपूर्ण संस्कृतिलाई अन्त्य गर्न यो कार्यक्रमले ठूलो सहयोग मिलेको उनले बताइन ।
पोषण कोसेली लिएर उपाध्यक्ष विसी यतिबेला गाउँगाउँमा पुग्न थालेकी छन् । सो अवसरमा अपरिपक्क उमेरमा विवाह नगर्न, सानै उमेरमा विवाह गरेर बच्चा नजन्माउन र दुई सन्तानभन्दा बढी बच्चा नजन्माउनका लागि सुझाव र राय सल्लाह दिने गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार