हेटौंडा : म्याद गुज्रिएको चिया फेला पारेपछि हेटौंडाको बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडको चिया प्रशोधन केन्द्र सिल गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको अगुवाइमा भएको अनुगमनमा बिहीबार म्याद गुज्रिएको चिया फेला पारेको थियो।
केन्द्रमा भित्र म्याद गुज्रेका तथा विवरण स्पष्ट नभएको ३० किलोग्रामका ९ सय २० बोरा चिया फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालले बताए। ‘म्याद गुज्रिएको र विवरण स्पष्ट नभएको चियापत्तीको नमुना संकलन गरी चिया प्रशोधन केन्द्रमा सिलबन्दी गरेका छौं’, उनले भने, ‘थप कारबाहीको लागि फेला परेको चियाको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएका छौं।’ उद्योगले ‘रेड लेबल’ नामको ब्रान्डमा उक्त चिया बिक्री गर्दै आएको थियो।
‘म्याद गुज्रेको चियालाई पुनः म्याद थपेर नयाँ प्याकेट बनाउने काम भइरहेको सूचना आएपछि हामीले अनुगमन गरेका हौं’, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडाले भने, ‘कानुनबमोजिम उद्योगलाई कारबाही हुनुपर्छ।’ उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई नभएको बताउँदै उनले उद्योगले पहुँचको भरमा छुटकारा नपाओस् भनेर खबरदारी गरिरहेको बताए।
चियापत्तीको बोरा बाहिर म्याद गुज्रने मिति सन् २०१९ लेखिएको छ। तर, अनुगमनको क्रममा उद्योगले म्याद गुज्रेको उक्त चिया २ सय, ५ सय र १ हजार ग्रामको बट्टामा पुनः प्याक गर्दैै गरेको भेटिएको खतिवडाले बताए। बिहीबार विशेष सूचनाको आधारमा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिले उद्योगभित्र रहेको चिया प्लान्टको अनुगमन
गरेको थियो।
उद्योगले अनुगमाको क्रममा सञ्चारकर्मीलाई भने उद्योगभित्र प्रवेश गर्न रोक लगाएको थियो। यस विषयमा प्रतिक्रिया लिन खोज्दा उद्योगका प्रतिनिधिहरू सम्पर्कमा आउन चाहेनन्। २७ वर्षदेखि सञ्चालित उद्योगले साबुन, पेस्ट, सेम्फुलगायतका सामग्री उत्पादन गर्दै आएको छ।अन्नपुर्ण पोष्ट