जाजरकोटको, भेरी नगरपालिका–१० भुरचौरदेखि स्थानीय फेराखोलातर्फ जाँदै गरेको भे १ त ८२१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मंगलबार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।
भेरी नगरपालिका–१० भुरचौरकी २७ वर्षीया गीता बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताउनुभयो ।
दुर्घटनामा भेरी नगरपालिका–१० भुरचौरकी ४० वर्षीया जैकला बुढा, सोही ठाँउका २२ वर्षीय कालीदास राना, गीताकी छोरी १२ वर्षीया तुल्सी बुढा र सल्यान वनगाड कुपिण्डेदह–२ बामे निवासी ३६ वर्षीया संगीता शर्मा घाइते भएको थापाले बताउनुभयो ।
जैकली र कालीदासको स्वास्थय अबस्था गम्भिर रहेको र घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । ट्याक्टरचालक भेरी नगरपालिका–१० बिराले बस्ने २२ वर्षका राजेन्द्र राना फरार रहेको प्रहरीले जनाएको छ । पानी लिन गइरहेको ट्याक्टर मोडमा पल्टिएको थियो ।