काठमाडौँ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा सोमबारदेखि सप्ताहव्यापी ट्राफिक व्यवस्थापन सुधार कार्यक्रम सुरू भएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रमको साेमबार उद्घाटन गरिएको हो ।
सडक सुरक्षा र दुर्घटना न्युनिकरणमा महत्त्वपूर्ण भुमिका खेल्दै अाएकाे कास्की ट्राफिकले सवारी चालक र यात्रुलाई ट्राफिक नियमसम्बन्धी शिक्षा दिने १ हजार पर्चाहरू वितरण गर्नुका साथै सडक प्रयोगकर्ता निर्देशिका पुस्तिका २०० थान प्रदान गरिएको थियो ।
गण्डकी प्रदेशकै मुख्य चोकको रुपमा रहेको पृथ्वीचोकमा गरिएको कार्यक्रमा जेब्राक्रसमा पैदल यात्रीहरुलाई पहिलो प्रथामिकता दिऊँ, लेन अनुशासन पालना गरौँ, अगाडी मात्र सवारी रोकौ, वायाँ साईड सधै खुल्ला राखौँ, गोल घुम्तिमा रहेको सवारीलाई पहिलो प्रथामिकता दिऊँ लगायतका प्ले कार्डसहित सवारी चालकले ध्यान दिनुपर्ने कुराहरु, बस चढ्दा-ओर्लँदा ख्याल गर्नुपर्ने कुराहरु, पैदल यात्रीहरुले सडकपार गर्दा ध्यान दिनुपर्ने कुराहरूको जानकारी दिएको कास्की ट्राफिक प्रमुख अमृतबहादुर बस्नेतले बताए । त्यस्तै चालक, परिचालक एवं पैदल यात्री गरी १ हजार ७५० जनालाई ट्राफिक नियमबारे जानकारी दिएको थियो ।