सत्य बटाला रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएको छ । आठविसकोट नगरपालिकाद्धारा सञ्चालित आठविसकोट नगर अस्पतालको सुविधायुक्त नयाँ भवन बनेको हो ।
वडा नम्बर ९ राडी बजारमा रहेको अस्पतालको नव निर्मित भवनको नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले एक कार्यक्रमका बीच उद्घाटन समेत गर्नुभएको छ । भवन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले आठविसकोट नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा उदारणीय रुपमा विकास गरेको बताउनुभयो । अस्पतालको थप व्यवस्थापनका लागि संघीय सरकारले पनि सहयोग रहने उहाँको भनाई छ ।
६ करोड बजेटमा नगर अस्पतालको भवन निर्माण गरिएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ भवन लिफ्ट सहितको बनेको हो । अहिले भवन निर्माण गरिएको र अस्पतालमा विभिन्न सेवाहरु सूचारु हुने नगर प्रमुख केसीले बताउनुभयो ।
स्वास्थ्यको क्षेत्रमा नगरपालिकाले फड्को मारेको दावी गर्दै नगर प्रमुख केसीले चार जना एमबिबिएस डाक्टरको व्यवस्थापन गरी शल्यक्रिया सहितको सेवा हुने उहाँले बताउनुभयो । अहिले पनि नगर अस्पतालमा एक जना डाक्टर सहित अन्य स्वास्थ्यकर्मीहरुले सेवा प्रवाह गरिहेका छन ।।