- अर्जुन बिष्ट

अर्जुन बिष्ट चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणकार्यले चितवन स्थापित भएको बताएका छन् । शनिबार भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनको विकास हेर्न सबैले महाधिवेशनका कार्यक्रमहरु चितवनमै गर्ने गरेको बताएका हुन् ।

आफूलाई हेरेर सबैले चितवनतिर नजर लगाएको बताउँदै अध्यक्ष दाहालले भने, ‘चितवनले विकास निर्माणमा फड्को मारिसकेको छ, प्रचण्डको जिल्ला हो भनेर कसैले पनि रिस नगरे हुन्छ । हामीले चितवनमा विकासका काम थुप्रै गर्यौँ । मोटरेबल पुल, चौडा पक्कीबाटो निर्माण गरेका छौं।’

अध्यक्ष दाहालले आफूले पनि चितवनको विकासमा ध्यान दिएको बताउँदै नेकपा (एमाले)ले चितवनको विकास हेर्न महाधिवेशन आयोजना गरेको बताए । ‘तर यहाँ महाधिवेशन गरेर जनता भड्काउने षड्यन्त्रमा मान्छेको भीडभाड बढाएर केही उपाए नलागेपछि निराश हुँदै फर्किएका छन्’ उनले भने ।
एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै दाहालले भिडभाड गर्दैमा महाधिवेशन सफल नहुने बताए ।

त्यस्तै प्रचण्डले प्रधान न्यायाधीश र एमसीसीको विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा हुने स्पष्ट पार्दै भने, ‘केही तत्वहरू अनेक प्रकारका झुठा, भ्रमपूर्ण कुरा फैलाइरहेका छन्, गठबन्धन भत्काउन एमसीसीलाई जोडिरहेका छन्, तर गठबन्धन कुनै हालतमा भत्किदैन, ढुक्क हुनुस्।’

एमालेले पनि चितवनको विकासलाई आत्मसात गरेको दाबी गर्दै दाहालले देशभरीका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक पर्यटकीय स्थल, सबै बुझ्ने मौका पाएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार