- अर्जुन बिष्ट

अर्जुन बिष्ट रुकुम पश्चिमको,आठबिसकोट नगरपालिका –७ डाँफेस्थित जनज्योति आधारभूत विद्यालयमा चार दिनदेखि पठनपाठन पूर्णरुपमा बन्द रहेको छ । सोही वडाका वडाअध्यक्षले विद्यालयका प्रधानाध्यापकसहित शिक्षकलाई धम्क्याएपछि विद्यालय बन्द गरिएको विद्यालयका एक शिक्षकले बताए ।

उक्त विद्यालयका प्रधानाध्यापक रमेशकुमार केसीका अनुसार वडाअध्यक्ष नवराज बुढाले मदिरा सेवनगरी विद्यार्थीले खाजा खाने समयमा विद्यालय आएर गालिगलौजसहित धम्की दिदैँ आफुसहित विद्यालयका शिक्षक माथि हातपातसमेत गरेका थिए । ‘वडाअध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिले म माथि पटकपटक अपमानजनक दुर्ववहार गर्दै आउनु भएको छ’, प्रअ केसीले भने, ‘यसपटक ज्यादति बढेपछि घटना बाहिर ल्याउन बाध्य भएको हूँ ।’ उनले गैरजिम्मेवार व्यवहार देखाउने अध्यक्ष माथि कारबाही नभएसम्म विद्यालय बन्द रहने बताए । उनले भने, ‘हामी आफ्नो सुरक्षाको लागि मंसिर २७ गतेदेखि विद्यालय बन्द गर्न बाध्य भएका हौँ ।’

स्थानीय तहको चुनावमा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष बुढाले बालविकास शिक्षिका र आफु जनजणनाका लागि सुपरिवेक्षक बनेको विषयलाई लिएर अभद्र व्यवहार गरेको केसीको भनाइ छ ।

यता वडा अध्यक्ष बुढाले भने आफुले मदिरा सेवन नगरेको दाबी गरेका छन् । बुढाले मध्यान्हसँग भने, ‘मैले मदिरा सेवन गरेको थिएन । प्रशासन र विद्यालय ब्यबस्थापनको विषयमा कुरा गर्दा उहाँ म माथि खनिनु भयो । सामान्य विवाद बाहेक मैले कुनै ज्यानमार्ने धम्की दिएको छैन ।’

आफूमाथि अपमानजनक व्यवहार र धम्की दिएको भन्दै पीडित केसीले आवश्यक कारबाही गरिपाउँ भन्दै मंसिर २८ गते प्रशासन कार्यालयमा निवेदन दिएका थिए । प्रसासनले सो घटनाको यथार्थ जाँचबुझ गर्न भन्दै प्रहरीलाई पत्र पठाएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घटना आठबिसकोटको भएकोले इलाका प्रहरी कार्यालय राडीलाई आवश्यक जाँचबुझ गर्न भनी पत्राचार गरिएको छ ।

कांग्रेस नेताको ज्यानमार्ने धम्की, प्रहरीले बुझेन पीडितको निवेदन

नेपाली कांग्रेसका नेता मान बहादुर नेपालीले आफुलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको प्रधानाध्यापक केसीले बताए। कांग्रेस १४ औं महाधिवेशनको केन्द्रीय पदका उम्मेदवार नेपालीले विद्यालयको बिषयलाई लिएर आफुलाई ज्यानमार्ने धम्की दिएको उनको भनाई छ । सत्ताको आडमा अश्लील शब्द प्रयोग गर्दै निवेदन फिर्ता नलिए आफुलाई ज्यानमार्ने धम्की दिएको केसीले मध्यान्हलाई जानकारी दिए । नेता नेपालीको धम्की पछि ज्यान सुरक्षाको लागि आफुले प्रशासन समक्ष निवेदन दिएको प्रअ केसीले जानकारी दिए ।

बुधबार प्रशासनमा दिइएको निवेदन प्रहरीले भने बुझ्न मानेको छैन । कांग्रेस नेता नेपालीले ज्यान मार्ने धम्की दिएपछि केसीले प्रशासनसमक्ष निवेदन दिएका थिए । सोही निवेदन उपर कारबाही गर्दै जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्र लेखेको थियो । तर प्रहरीले त्यो पत्र लिन मानेको छैन ।

केसीले आफु प्रशासनको पत्र बोकेर जिल्ला प्रहरी कार्यालयमा जादा आफुलाई गेट भित्र छिर्न नदिएको गुनासो व्यक्त गरे । उनले आफु प्रशासनले काटेको पत्र बोकेर प्रहरी कार्यालयको गेटमा पुग्दा डिएसपी धुव्र कुमार श्रेष्ठले त्यो मान्छेलाई गेट भित्र छिर्न नदिनु भनेपछि ड्युटीमा रहेका प्रहरीलेसमेत आफुमाथि दुर्ववहार गरेको बताए । प्रहरीलेसमेत आफ्नो पत्र नबुझेर उल्टै दुर्व्यवहार गरेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी श्रेष्ठले भने, ‘घटना आठबिसकोटको भएकोले त्यतै छ्लफल गर्नु भनी पठाइएको हो । इप्रका आठबिसकोटमा कुरा मिलेन भने जिल्ला प्रहरीमा आएर जाहेरी दिनु भनेका छौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार