- जि.एम. दिपु देपेन्द्र

जि.एम. दिपु देपेन्द्र
१.)
आफ्नै मन र मस्तिष्कलाई विवादमा राख्नुपर्यो !
रहर ति ताराहरुको गरेर नजर चाँदमा राख्नुपर्यो !
मलाई उसले एकदिन आफ्नो, अंगालोमा राखी !
मैले बदलामा जीवनभर उसलाई यादमा राख्नुपर्यो !

२.)
कमजोर संरचनाहरू झै चर्किए म आज पनि ।
प्यारको भुईचालोले थ-थर्किए म आज पनि ।
तिमी पसलमा हुनु भनेको खर्च बढ्नु हो मेरो ।
नचाहिने सामान किनेर फर्किए म आज पनि ।

३.)
प्रेम काफी छ जलाउन सलाईको के कुरा ?
यहाँ आफ्नैले जलाउछन् पराईको के कुरा ?
दिल तोडेर गएकी मान्छे, अस्पतालमा रै’छे ।
फर्केर आए त्यस्ती सँग दबाईको के कुरा ?

४.)
एकछिन बिसाएर छोड्न सकिने बिसौना थिएन ।
मन लागे लाउने नलागे नलाउने बिछ्यौना थिएन !
जसलाई तिमीले खेलौना सम्झेर खेलिरहेकी थियौ !
त्यो मेरो मन थियो कुनै बजारको खेलौना थिएन !

५.)
मैले सबथोक दिएको रहेछु मन दिदा तिमीलाई !
छुट्टै आभास हुन्छ अझै पनि सम्झिदा तिमीलाई !
मनको कुनै कुनामा भए पनि, तिमी अडिरह्यौ !
कहिलै भन्न सकिन मैले अल-बिदा तिमीलाई ‌!

६.)
बर्षिनु अगाडीको बादल थिए बल्ल बुझ्दैछु !
आँशुले बगाई लाने गाजल थिए बल्ल बुझ्दैछु !
मरुभूमिमा फूल फुलाउने, सपना थियो मेरो !
म माली होइन एक पागल थिए बल्ल बुझ्दैछु !

✍️ जि.एम. दिपु देपेन्द्र
चौरजहारी न.पा. ११, रुकुम पश्चिम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार