- अर्जुन बिष्ट

अर्जुन बिष्ट /
जाजरकोटमा जुवाखालबाट २ लाख नगदसहित जनप्रतिनिधि र कर्मचारी पक्राउ परेका छन् । भेरी नगरपालिका ४ गैरीखोलास्थित स्थानीय सन्तोष श्रेष्ठको घरबाट जाजरकोट प्रहरीले जुवातास खेलिरहेका जनप्रतिनिधि र कर्मचारीसहित १३ जनालाई पक्राउ गरेको हो ।

जिल्लाको भेरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत देव बहादुर घर्ती र नेपाली काँग्रेसका भेरी नगरपालिकाका नगर सभापति एवं निर्वाचित जनप्रतिनिधि ६ नम्बर वडा अध्यक्ष शशी बुढासहित १३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरको कोठाभित्र अवैधरुपमा जुवातास खेलिरहेका सरकारी कर्मचारी र जनप्रतिनिधि सहित १३ जना जुवाडेलाई पक्राउ गरेको हो । प्रहरीको विशेष स्रोतका अनुसार आइतबार बिहान ३ बजेतिर अवैध तवरबाट जुवा खेलाईरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिका, वडा नं ५ बस्ने ४२ वर्षको दल बहादुर घर्ती, सोहि नगरपालिका वडा नं ४ बस्ने ४६ बर्षको प्रचण्ड जंग शाह, बर्ष २७ को प्रभात केसी, बर्ष ३३ को सन्तोष श्रेष्ठ, बर्ष २७ को निराजन भडेल, वडा नं ८ बस्ने बर्ष २५ को जिवन खत्री, वडा नं ६ बस्ने बर्ष ३४ को सशिराम बुढा, छेडागाड नगरपालिका वडा नं १३ बस्ने बर्ष ४२ को कर्ण बहादुर खड्का, सोही नगरको वडा नं ५ बस्ने बर्ष ३६ को प्रकाशमान सिंह ,वडा नं १० बस्ने बर्ष ३६ को प्रशुराम गिरी, कुशे गाउँपालिका ९ बस्ने बर्ष ४८ को दिकपाल आर सी, रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २० को बिकाश बि.क र वडा नम्बर ३ बस्ने बर्ष ३० को बालकृष्ण बुढाथोकी रहेका छन् ।

पक्राउ परेकाहरुको साथबाट तास ५२ पत्ति, तास खेल्न प्रयोग गरिएको मण्डी थान २, विभिन्न कम्पनीका मोबाइल र जम्मा नगद २ लाख ५२ हजार एक सय २० रुपैयाँसमेत बरामद गरिको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख मधुकुमार थापाले मध्यान्हलाई जानकारी दिए ।

पक्राउ परेका १३ जनालाई जुवा ऐन अन्तरगत कारबाही गरिने प्रमुख थापाले बताए । उनिहरु माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार