रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको आयोजनामा महिलाहरुमा हुने प्रजनन् स्वास्थ्य सम्बन्धि २ दिने नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको स्वास्थ्य तथा सामाजिक विकास शाखा संयोजक प्रेम प्रकाश रोकायले बताउनुभयो । उक्त शिविरमा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम र स्वास्थ्यको लागि सक्षम प्रणाली द्वारा प्राबिधिक सहयोग सञ्चालन गरिएको हो ।
उक्त शिविरमा ४ सय ५० जनामा सेवा प्रबाह गरिएको र सेवा दिइएको मध्ये पाठेघरको मुखको क्यान्सर जाँच तथा परामर्श सेवा १७० जना, जसमध्ये VIA जाँच पोजिटिभ १४जना , पाठेघर झरेको सख्या २५ जना,सिस्टोसिल ५२ जना, रेक्टोसिल २५ जना, रिङ पेसरी सेवा २० जना ,रिङ पेसरी निकालेको ५ जना भिडियो एक्सरे सेवा १९० जना,निशुल्क औषधि सेवा , ल्याब सेवा, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा आदि सेवाहरु प्रदान गरिएको संयोजक रोकायले जानकारी दिनुभयो ।
थप परिक्षण तथा उपचारको लागि VIA जाँच पोजेटिभ १४ जनालाई आठबिसकोट नगरपालिका र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा समन्वय द्वारा थप उपचारको लागि पठाइने संयोजक रोकायले जानकारी दिनुभयो । नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा महिलाहरु मा हुने तल्लो पेट सम्बन्धि समस्यहरु धेरै पाइएकोले उक्त समस्या कम गरि विरामी दर घटाउने, आठबिसकोट नगर अस्पताल बाट प्रजनन् रुग्नता सेवा नियमित रुपमा सञ्चालन गर्ने, स्थानीय स्तरमा बिशेषज्ञ सेवा प्रदान गरि बिरामीको आर्थिक भार कम गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको संयोजक रोकायले बताउनु भयो ।
उक्त २ दिने शिविरमा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर केहल बिक्रम जि.सि लगायतको टिमबाट सेवा प्रवाह गरिएको थियो । शिविर चैत्र २६ र २७ गते सञ्चालन गरिएको थियाे ।