नाबालिकामाथि बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान सन्दीप लामिछाने आफूविरुद्ध लागेको झुटा आरोपका कारण विरामी परेको बताएका छन् । सन्दीपले आइतबार राति फेसबुकमा स्टाटस लेख्दै सत्यतथ्य नबुझी झुटो जाहेरीका आधारमा मेरो चरित्रमा गम्भीर आँच आउँदा आफू मानसिक रुपमा विक्षिप्त भएको सन्दीपले बताएका छन्।
‘सत्यतथ्य नबुझी झुटो जाहेरीका आधारमा मेरो चरित्रमा गम्भीर आँचआउने गरी समाचारहरू आए । मेरो नाममा वारेन्ट जारी भएको समाचार, मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विक्षिप्त बनायो, के गर्ने, के नगर्ने भन्ने सोच्न सक्ने अवस्था रहेन,’ सन्दीपले फेसबुकमा लेखेका छन्।
सन्दीपले इमानदार क्रिकेटरलाई गम्भीर षड्यन्त्रको सिकार बनाइएको भन्दै आफ्नो अनुपस्थितिमा मलाई अपराधी साबित गराउने झुटो जाहेरी प्रपञ्चविरुद्ध कानुनी लडाइँ लड्ने बताए ।
भदौ २१ सन्दीपविरुद्ध नाबालिग बलात्कारको जाहेरी परेको थियो । त्यसको केही दिनपछि नेपाल आउने भन्दै वेस्टइन्डिज छाडेका सन्दीपले लामो सयमपछि स्टास लेखेका हुन्। सन्दीपले १७ दिनपछि आइतबार फेसबुक चलाएका सन्दीपले आफू मानसिक रूपमा बिरामी भई तनावमुक्त हुन आइसोलेसनमा रहेको उल्लेख गरेका छन् ।
‘सबै कुराले मलाई एकातिर मानसिक असर ग¥यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिनुपर्यो, मानसिक तनाव र स्वास्थ्य खराबीका कारणले मैले आफूलाई आइसोलेसनमा राखेर बसेको छु,’ सन्दीपले लेखेका छन्, ‘झुटो जाहेरीकै भरमा अपराधीको चित्रणले मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगेँ, डाक्टरहरूको सल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु ।’
आफ्नो स्वास्थ्यमा सुधार आएको बताउँदै सन्दीपले जतिसक्दो चाँडो नेपाल फर्किएर झुटो उजुरीविरुद्ध डटेर प्रतिवाद गर्ने जनाएका छन् । सन्दीपले १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुन पाउनुलाई सौभाग्यका रूपमा लिएका छन् । उनले लेखेका छन्, ‘म सदैव विश्व क्रिकेट जगत्मा नेपालको नाम उच्च राख्ने प्रेरणाले अघि बढेको छु, आफ्नो मिहिनेतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्वित महसुस गरेको छु ।’
सन्दीपले आफूविरुद्ध परेको मुद्दा २२ भदौमा थाहा पाएको बताएका छन् । भदौ २३ मा नेपाल प्रहरीले अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो । क्यानले २४ भदौमा सन्दीपलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो । सन्दीप सम्पर्कविहीन भएपछि नेपाल प्रहरीले इन्टरपोलसँग सहकार्य गर्दै उनलाई नेपाल फर्काउने तयारी गरिरहेको छ । सबै खेल,,