यो पहिलो फोटो सन् 1994 मा काठमाणडौंको शंखमुलमा आफ्नै डेरा बाहिर खिचिएको हो। झट्ट हेर्दा यो तस्वीर जति सरल र सुन्दर देखिन्छ त्यो भन्दा मार्मिक र अविस्मरणीय कथा यस भित्र लुकेको छ। हामी शंखमुलमा डेरा गरी बस्थ्यौं। एउटा अलि ठूलो कोठा र सानो भान्सा कोठा थियो। मेरी श्रीमती गर्भवती थिइन्। म एउटा ख्रीष्टियन संस्थामा काम गर्थे। मेरो तलब २,५००।-(पच्चीस सय रुपैया) थियो। मेरी श्रीमतीले खाम (लिफा) बनाउने काम गर्थी। ठूलो छोरा ५ वर्षको थियो। सामान्य खाना खान र कोठा भाडा तिर्न ठीक्क हुन्थो। येशूलाई पछ्याउन थालेको २ वर्ष भएको थियो। नयाँ जोस र उमंग थियो । अति आन्नदित्! त्यही घरको अर्को कोठामा रुकुम जिल्लाबाट क्याम्पस पढ्न आएका ४ जना भाइहरू बस्थे । ती भाइहरूसँग बेलुकीपख दिनहुँजस्तै म येशूको बारेमा कुरा गर्थे । श्रावण महिनाको ७ गते बिहानैदेखि मेरी श्रीमतीलाई सुत्केरी व्याथा लाग्नथाल्यो। अफिसले दिएको चाइनिज फोनिक्स साइकलमा पछाडि राखेर मैले मेरी श्रीमतीलाई लगनखेल स्थित् पाटन अस्पतालमा पुर्याएँ ।
उनलाई भर्ना गरियो र माथि प्रसुति वार्डमा लगियो । म बाहिर कुरुवाहरू बस्ने ठाउमा कुरिरहेँ। केही समयपछि एक जना नर्स बाहिर निस्क्यो। “लुगाहरू ल्याउनु भा छ । टिपिकल नेपाली नर्सको शैलीमा (झर्केर) मलाई सोधी। “छैन”, मैले भने । नर्सले भनी, ल, घर गएर लुगा ल्यार आउनस् ।” म फेरि घरतिर कुदेँ । घरबाट लुगा लिएर अस्पताल पुग्दात सिसेक्सन गरेर बच्चा निकालिसकेछन् । आमा चाहिँ बेहोश अवस्थामा। नाम के राख्ने भनेर नर्सले सोधिन् मैले भने ‘आशिष’! केही दिनपछि अस्पतालले मेरी श्रीमती र छोरालाई छुट्टी दियो । अस्पतालको महंगो बिल तिर्न मेरो अफिसले सुत्केरी खर्च स्वरुप रु. ३,०००।- दियो। परमेश्वरलाई धन्यवाद दिएँ ।
त्यसको केही हप्तापछि सुकदेव गिरी दाइको विवाह हुँदैथियो । दाइले विवाह कार्यक्रम संचालन (एमसी) गर्ने जिम्मा मलाई दिनुभएको थियो । विवाहको दिन म, आफ्नी सुत्केरी श्रीमती र शिशुलाई घरमा छोडिराखेर शंखमुलदेखि पुतलीसडक चर्चसम्म साइकलमा सवार भएँ । विवाह शुरूभयो । मैले शुरूको प्रार्थना गरे र केही भजनहरू गाउन आव्हान गर्दै कार्यक्रमलाई अगाडि बढ़ाएँ । उपत्यकाका प्राय: अग्रज र नाम चलेका पास्टर अगुवाहरूको उपस्थिति थियो त्यहाँ । मेरो विवाह चर्च भएन । हामी भागेकोले होइन तर हाम्रो विहे हुँदा चर्च कुन चराको नाम हो, मलाई थाहा थिएन । त्यसैले कार्यक्रम संचालन गर्ने क्रममा मैले भने, जब जब चर्चमा विवाह हुन्छ अनि दुलाह र दुलहीले एकअर्कासँग बाचा गर्छ । मलाई पनि मेरी श्रीमतीसँग पुन: विवाह गरेर करार बाँध्ने रहर जागेर आउँछ । उपस्थित जनसमुदायमा एलओएल भयो । आफ्नो भार सकिएपछि म पुल्पिटबाट ओझेल भएँ । खइ के भयो कुन्नी लोकनाथ मनेन दाइ मकहाँ आएर हात मिलाउदै भन्नुभयो, “भाइ भविष्यमा पास्टर हुनेछ”। सायद दाइले यो कुरा बिर्सिसक्नुभयो होला तर उहाँको उक्त भनाइ आजकलका तथाकथित अगमवक्ताहरूले कहेको अगमवाणीभन्दा पनि सत्य सावित भयो ।
त्यति बेला सुकदेव दाइ डिटिएसको प्रिनसपल हुनुहुन्थ्यो। विवाह धूमधामसँग गर्नसक्ने हैसियत थियो उहाँ सँग । तर अस्वस्थ प्रतिस्पर्धा र आर्थिक अवस्था कमजोर भएका विश्वासीहरूलाई ध्यानमा राखी विवाहमा भोजभतेरको सट्टा बागबजार स्थित बिमला स्वीट्सको सोमसा र मिठाइको पोको खुवाउने चलन थियो । उहाँको विवाहमा डब्बल खाना थिय । चर्चमा मिठाइको पोको अनि साँझ डिटिएसमा मासु र पुलाउ तर सेलेक्टेडहरूका लागि मात्र । चर्चमा विवाहको विधि सकियो। बाहिर चउरमा तयार पारेको कुर्सीमा नव दम्पत्ति बसे । नव दम्पत्तिलाई भेटेर बधाइ, शुकामना र उपहार दिन सबै लामबध्द भएँ । मेरो मनमा एउटा द्वन्द चलिरहेको थियो।लाइनमा बस्ने कि नबस्ने त्यो द्वन्दको कारण थियो- मेरो खल्तीमा भएको एक सय रुपैया । एक मनले भनिरहेको थियो त्यो एक सय रुपैया खाममा हालेर नव जोडीलाई दे अर्को आवाजले भनिरहेको थियो – घरमा बुढी सुत्केरी छ । त्यो पैसाले भरे सुत्केरीलाई राँगाको मासु खुवाऊ ! फेरि एक मनले भन्छ, तँलाई लाज लाग्दैन! विवाहको एमसी गर्ने तर विवाहित जोडीलाई उपहार चाहिँ नदिेने ? फेरि अर्को आवाजले भन्यो, तेरो जाबो एक सय रूपैयाले सुकदेव दाइ लाइ के हुन्छ ? बरू बुढीलाई मासु खुवाऊ ! त्यैपनि यत्रो भीडमा दाइलाई कसरी थाहा हुन्छ ।
तैंले दिएको र नदिएको ! अन्तत: देऊ भन्ने आवाजप्रति अनाज्ञाकारी हुन सकिन र एउटा खाममा त्यो एक सय रुपैया हालेर तानवग्रस्त मुहारले नव जोडीलाई उपहार दिएँ । त्यसपछि आफ्नो थोत्रो साइकलमा डेरातिर लागेँ । बाटैभरि मनमा कुरा खेलिरह्यो । खल्ती रित्तिँदा मन कति भारी हुँदोरहेछ भन्ने अनुभव भयो । एउटै चिन्ता थियो- भरे सुत्केरीलाई के खुवाउने । घर पुगेँ । साइकल थान्काएर सरासर कोठामा पसेर खाटमा लम्पासार परे- खुइया गर्दै। मेरी श्रीमती अर्को खाटमा बच्चासँग बसिरहेकी थिई । “दिउँसो तपाईलाई भेट्न दुइ जना मान्छे आका थे,” उनले भनी । मैले ढल्केरै सोधेँ, “को मान्छे ?” “खोई को हो मैले चिनिन” भन्दै सिरानीमुनिबाट एउटा खाम निकालेर “यो चिठ्ठी छोडेर गको छ । भन्दै उनले मलाई खाम दिइन् । म उठेँ र उक्त खाम खोलेँ । खाम भित्र रु. १,२५२ (एक हजार दुइ सय बाउन्न रुपैया) रहेछ । म केही क्षण अलमल्ल परेँ । त्यसपछि तुरुन्त दोकानमा गएर मासु किनेर ल्याए र सुत्केरीलाई मनग्गे खुवाएँ र सुत्केरीको नाउँमा आफुले पनि मज्जाले खाएँ! परमेश्वर याहोवे यिरे – जुटाउने परमेश्वर आज त्यही छोरो लाठे भएको छ । प्रभुलाई महिमा होस् । मैले चाखेको छु । र मलाई राम्रो थाहा छ परमेश्वर कति भला हुनुहुन्छ! #दिएर_कोही_कहिल्यै_गरीब_र_भोको_हुँदैन
Nima Ghising Pastor live chat ha