रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ स्थित निर्माणाधीन ६५ किलोवाटको लघु जलविद्युत आयोजना १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । साविकको आठबिसडाँडागाउँ गाविसमा पर्ने यो योजनाबाट १ हजार ४ सय ४७ घरधुरीलाई समेट्ने गरी कालाखोला लघु जलविद्युतको काम २०६६ सालमा शुरु गरिएको थियो । तर अहिलेसम्म आयोजनाको न काम नै बन्द छ, न अगाडि नै बढ्न सकेको छ ।

विसं २०६५/६६ मा निर्माण थालिएको उक्त विद्युत आयोजनाले अहिलेसम्म विद्युत उत्पादन गर्न सकेको छैन । विद्युत आयोजना निर्माण भएपछि बिजुली बाल्ने भनेर आशमा बसेका स्थानीय अहिले दियोकै भरमा बसिरहेका छन् । उक्त विधुत आयोजना कर्णाली प्रदेशका पूर्व जलस्रोत तथा उर्जा विकास मन्त्री रातो कामीले नेतृत्व गरेका थिए । आफैं उर्जा मन्त्री हुँदा नेतृत्व गरेको र आफ्नै वडाको विद्युत आयोजना अलपत्र पर्नु दुखद कुरा भएको स्थानीयको भनाइ छ ।

यता पूर्वमन्त्री कामीले भने विद्युतको विषयमा आफू जानकार नभएको बताउँदै आएका छन् । ठेकेदारको लापरबाही भयो भन्दै दोष लगाउँदै आएका उनले बत्ती बाल्ने भनी स्थानीयलाई लामो समयदेखि झुटो आश्वासन दिँदै आएका छन् । ‘बाह्र वर्षमा त खोला पनि फर्किन्छ भन्छन्, तर हामीले त बिजुली पनि बाल्न पाएनौं’, स्थानीय भन्छन, ‘बिजुलीको नहर, तार कस्दा र पोल ओसार्दा श्रमदान नगरे बिजुली बाल्न नदिने भनी हल्ला चलाइयो, तर त्यो हल्ला १३ वर्षसम्म कायमै रह्यो ।’

अहिले यो वडामा बिजुलीको केन्द्रीय प्रशारण लाइन पुगिसक्यो तर स्थानीय जलविद्युत तेह्र वर्षदेखि अलपत्र छ । गाउँमा बिजुली आएपछि दियालो, टुकी र सौर्य उर्जाबाट छुटकारा पाइने भन्द ैखुसी भएका स्थानीयवासी १३ वर्षसम्म विद्युत सञ्चालन नहुँदा समस्यामा परेका छन् ।विद्युत आयोजना निर्माण भएपछि बिजुली बाल्ने भनेर आशमा बसेका केही स्थानीय अहिले सौर्य उर्जा, टुकी र दीयोको भरमा बसिरहेका छन् भने अधिकांशले केन्द्रीय प्रशारण लाइनमार्फत बत्ति बाल्दै आएका छन् ।

उपभोक्ता समितिले हरेक वर्ष बिजुली बाल्छौँ भनी झुटो आश्वासन दिँदै आएको स्थानीयवासीको गुनासो छ । उक्त आयोजनालाई साविकको गाविस हुँदादेखि पटकपटक बजेट विनियोजन गरिएको थियो ।ठेकेदार कम्पनीको लापरबाही र आयोजनाको नेतृत्व गरेकाहरुको मिलेमतोका कारण आयोजना अलपत्र परेको स्थानीयको आरोप छ । सो आयोजनामा १३ वर्षअघि बत्ती बाल्ने आशामा स्थानीयले श्रमदान समेत गरेका छन् । अहिले केन्द्रीय लाइन जोडिएपछि यहाँका वासिन्दाहरु आफूले गरेको श्रमदान खेर जान्छ कि भन्ने चिन्तामा छन् । मध्याह्न ,,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार