रुकुम । उद्घाटन गरिएको चार महिना बितिसक्दा पनि रुकुम पश्चिमको आठबिसकोटमा स्थापना भएको नापी तथा मालपोत कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन । आठबिसकोट र बाँफीकोटका केहि स्थान कार्यक्षेत्र रहने गरी गत असोज १० मा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री रातो कामीले दुवै कार्यालयको उद्घाटन गरेका थिए । कार्यालय उद्घाटन भएको चार महिना बितिसक्दा पनि साइन बोर्ड राख्ने कामबाहेक केहि उपलब्धि भएको छैन ।
रुकुमको आठबिसकोटमा नापी र मालपोतको कार्यालय सञ्चालन गर्ने मन्त्री परिषदको निर्णय भएलगत्तै कार्यालयको उद्घाटन गरिएको थियो । स्थानिय स्तरबाटै जग्गा सम्बन्धि हरेक कामकाज गराउन पाउने भएपछि जिल्लाका पश्चिम भेगका स्थानियहरु हर्षित भएका थिए । तर, स्थापना भएको पाँच महिना पुग्नै लाग्दा कार्यालयको ढोका समेत नखुल्दा स्थानीय मर्कमा परेका छन् ।यता जिल्ला मालपोत कार्यालयका प्रमुख तुलसीराम भुसालले बजेट बिनियोजन नहुँदा सञ्चालनमा केही समय लागेको जानकारी दिए । उनले भने, ‘बिभागबाट कार्यालय सञ्चालनका लागि कुनैपनि जानकारी नआएकोले सञ्चालन कहिले हुने भन्नेबारे अन्योल छ ।’ यता घरबेटीले भने पाँच महिनादेखि भाडा नपाएको गुनासो गरेका छन् । नापी र मालपोत कार्यालय भाडाको घरमा राख्ने निर्णय भएको थियो ।